• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

लायन्स क्लबमा सक्रिय हुँदै राष्ट्रपति बने कार्टर

२०८१ श्रावण ३२ शुक्रबार २१:५६:०० मा प्रकाशित

लायन्स क्लबमा किन लाग्ने भन्ने प्रश्न अहिले पनि कतिपयको मनमा आउँछ । यसका लागि लायन्स क्लबमा सक्रिय भएकाहरु कुन ओहोदाको पदसम्म पुगे भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । लायन बनेर सेवामा सक्रिय व्यक्ति विश्वकै शक्तिशाली देशको राष्ट्रपनि बनेका छन् । 

लायन्स क्लबमा सक्रिय हुँदै सामाजिक सेवाको क्षेत्रमा कार्यरत लायन जिम्मी कार्टर अमेरिकाका ३९ औं राष्ट्रपति भए । लायन्स क्लबको इतिहासमा लायन सदस्य भएर देशको राष्ट्रपति बन्ने पहिलो व्यक्ति कार्टर नै हुन् । 

जर्जियाको प्लनेसमा १ अक्टोबर १९२४ मा जन्मिएका कार्टर सेवामुखी भावनाका थिए । उनी बदाम किसानका परिवारमा जन्मिए पनि मनका भने धनी थिए । सामान्य तरीकाले बाल्यकाल बिताएका उनी लायन्स क्लबको सदस्य हुँदा समाजसेवाका विभिन्न कार्यक्रमहरुमा सक्रिय भए । 

दयालु स्वभावका समाजसेवी कार्टरले अमेरिकाको ३९ औं राष्ट्रपतिका रुपमा २० जनवरी १९७७ देखि १९ जनवरी १९८१ सम्म कार्यभार सम्हाले । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी कार्टर सेन्टर नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था स्थापना गरी मानव अधिकारको क्षेत्रमा सेवारत रहे । 

उनले मानव अधिकारको क्षेत्रमा गरेका कार्यको उच्च मूल्यांकन गर्दै सन् २००२ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो । त्यस्तै १९९५/९६ मा उनलाई लायन्स मानवीय पुरस्कारबाट सम्मानित गरियो । यो पुरस्कार लायन्स क्लब अन्तर्राष्ट्रिय कोष (Lions Club International Foundation-LCIF) ले स्थापना गरेको हो । कार्टर अहिले पनि सामाजिक कार्यमा सक्रिय छन् ।