• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

शिवपुरी गाउँपालिकामा मोबाइल नेटवर्क सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

२०८३ कार्तिक ११ मंगलबार ११:२७:०० मा प्रकाशित

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका लगायत क्षेत्र नं १ का विभिन्न स्थानमा देखिएको नेपाल टेलिकमको नेटवर्क समस्या समाधान गर्न सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले निर्देशन दिएका छन् । 

समाजसेवी लायन प्रल्हाद थापाको नेतृत्वमा सञ्चारमन्त्री भेट्न गएको टोलीले मोबाइल समस्याको बारेमा जानकारी गराएपछि उनले एक साताभित्र टावरहरुको प्राविधिक जाँच गरि समस्या समाधान गर्न निर्देशन दिएका हुन् । सञ्चारमन्त्री नुवाकोट क्षेत्र नं. १ का सांसद पनि हुन् । लायन थापासहित सचिव मदन सिटौला, शिवपुरी–४ का कृष्णबहादुर थापा, नवराज भण्डारी तथा शिवपुरी–६ का अच्युत आचार्य सहभागी टोलीले गाउँपालिकाका विभिन्न क्षेत्रमा देखिएको कमजोर मोबाइल नेटवर्क र सञ्चार सेवाको समस्याबारे मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराएको हो।

छलफलका क्रममा नेपाल टेलिकमका प्राविधिक प्रतिनिधिसँग शिवपुरी गाउँपालिकामा सञ्चालनमा रहेका टावरहरूको अवस्था, क्षमता, विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा देखिएका समस्याबारे जानकारी लिइएको थियो। टोलीको आग्रहपछि मन्त्री तिमिल्सिनाले एक साताभित्र शिवपुरीका टावरहरूको प्राविधिक जाँच गराई आवश्यक मर्मतसम्भार तथा क्षमता वृद्धि गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए । 

छलफलका क्रममा शिवपुरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलगायत समग्र विकासका विषयमा समेत छलफल भएको लायन प्रल्हाद थापाले जानकारी गराए । शिवपुरीका नागरिकलाई सहज, गुणस्तरीय र भरपर्दो सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस पहलबाट आगामी दिनमा मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा  सुधार आउने अपेक्षा गरिएको छ।