एलसिआइएफ लक्ष्य पूरा गर्नेमा डिष्ट्रिक्ट ३२५ जे नेपालमा पहिलो स्थानमै
काठमाडौं । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को लायन वर्ष २०२६–२७ को वार्षिक लक्ष्य पूरा गर्नेमा डिष्ट्रिक्ट ३२५ जे, नेपालमा पहिलो स्थानमै रहन सफल भएको छ ।
पहिलो क्वाटर अर्थात् सेप्टेम्बरसम्मको अवधिमा ३२५ जे नेपालले आफ्नो निर्धारित लक्ष्यको १२७ प्रतिशत योगदान पूरा गरेको हो । एलसिआइएफमा योगदान र लक्ष्य प्राप्तिको हिसाबले मल्टिपल डिष्ट्रिक्ट ३२५ मा डिष्ट्रिक्ट ३२५ जे नेपाल अग्रस्थानमा छ । डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोला हुन् ।
नेपालमा अन्य डिष्ट्रिक्टहरूले समेत उल्लेखनीय प्रगति गरेका छन् । डिष्ट्रिक्ट ३२५ के ले ११९ प्रतिशत लक्ष्य पुरा गर्दै दोस्रो स्थानमा रहेको छ । यो डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी हुन् । त्यस्तै डिष्ट्रिक्ट ३२५ ई तेस्रो स्थानमा छ । ई ले १०४ प्रतिशत लक्ष्य पूरा गरेको छ । यो डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर लायन श्याम कुमार यादव हुन् पहिलो क्वाटरमै तीनवटै डिष्ट्रिक्टले आफ्नो वार्षिक एलसिआइएफ लक्ष्यको १०० प्रतिशतभन्दा बढी योगदान पूरा गरेका छन् ।
एलसिआइएफले विश्वभर सञ्चालन गर्दै आएको मानवीय सेवाका विभिन्न कार्यक्रमका लागि लायन्स सदस्य तथा क्लबहरूबाट प्राप्त हुने योगदानलाई महत्वपूर्ण स्रोतका रूपमा लिने गरेको छ । त्यसैले लायन वर्षको सुरुवातको तीन महिनामा नै लक्ष्यभन्दा बढी योगदान संकलन हुनु सम्बन्धित डिष्ट्रिक्टका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
यसैबीच, मल्टिपल डिष्ट्रिक्ट ३२३१ लायन वर्ष २०२६–२७ को पहिलो क्वाटरमै आफ्नो १०० प्रतिशत एलसिआइएफ लक्ष्य पूरा गरेको मल्टिपल डिष्ट्रिक्ट बनेको छ । मल्टिपल ३२३१ ले पहिलो क्वाटरमै १०० प्रतिशत लक्ष्य पूरा गर्ने उपलब्धिका लागि ३२३१ ए ३ ले महत्वपूर्ण योगदान गरेको छ । उक्त डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नर लायन नटवरलाल बांका हुन् । यो डिष्ट्रिक्टले १७५ प्रतिशत लक्ष्य हासिल गरेको छ ।