• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

अन्तर्राष्ट्रिय लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्म १३ जनवरी १८७९ का दिन अमेरिकाको एरिजोनाको फोर्ट थोमसमा भएको हो । अमेरिकी सेनाको स्काउट विभागमा क्याप्टेन रहेका मेल्भिन जोन्सका बुबा सेनाका एक सफल र कर्तव्यनिष्ठ अधिकृत थिए । सैनिक संस्कृतिमा आफ्नो बाल्यकाल बिताएका मेल्भिन जोन्स निडर तथा प्रष्ट बक्ता थिए । 

उच्च शिक्षा पूरा गरेपछि कानुन र संगीतमा विद्धता हासिल गरेका मेल्भिन जोन्सले बिमा व्यवसायलाई आफ्नो करियर बनाए । सुरुमा अन्य कम्पनीमा काम सुरु गरेका जोन्सले सन् १९१३ मा आफ्नै बिमा एजेन्सीको स्थापना गरेका थिए । उनको व्यवसायिक छवि सफल बनेपछि उनी व्यवसायिक व्यक्तिहरुको संगठन मेन्स क्लबमा सचिवमा निर्वाचित भए । 

प्रथम विश्वयुद्धको प्रत्यक्ष असर परेको अमेरिकी समाजका संवेदनशील पिडालाई कसरी कम गर्ने भन्ने विषयमा छलफल चलाए । त्यसैकारण उनले १९१७ को जुन ७ मा मेन्स क्लबका केही सदस्यहरु र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरुको जमघटमा मानवीय सेवा गर्ने, आफूभन्दा कम अवसर र बढी समस्या भएका व्यक्तिलाई सक्दो सहयोग गर्न तत्परता देखाई परिपक्व संगठनको ढाँचासहित लायन्स क्लबको स्थापना भएको घोषणा गरियो । त्यसपछि उनी क्लबको प्रधान कार्यालय सिकागोमा स्थापना गरी यसमै पूर्णकालीन रुपमा क्रियाशील हुन थाले । 

'हामी सेवा गर्छौ' भन्ने मूल मन्त्रलाई अघि बढाउँदै विश्व्यापी संगठन विस्तार गर्न सफल लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सलाई सन् १९५० को सिकागोमा सम्पन्न महाधिवेशनले उनको योगदानको कदर गर्दै आजीवन महासचिवको पदले सम्मानित समेत गरेको थियो । अनको जन्मदिन जनवरी १३ लाई विश्वभरका लायन्सहरुले मेल्भिन जोन्स डे का रुपमा मनाउने गर्दछन् ।