लायन्स विधानका ज्ञाता लायन सत्यनारायण राठी
नेपालको प्रसिद्ध औद्योगिक नगरी विराटनगरमा जन्मेका सत्यनारायण राठी पेसाले सिभिल इन्जिनियर थिए । भवन विभागका डाइरेक्टर जनरल समेत बनेका उनी अलि कडा मिजासका थिए । १९७२ मा लायन्स क्लब अफ काठमाडौंका संस्थापक सदस्य र पूर्व अध्यक्ष समेत रहेका राठीलाई नेपाल र भारत संयुक्त डिष्ट्रिक्ट हुँदा ३२२ ए र बाइफर्केसनपछि ३२२ इ तथा नेपाललाई प्रोभिजनल डिष्ट्रिक्ट (प्रस्तावित डिष्ट्रिक्ट ३२५) का संयुक्त गभर्नर बन्ने अत्यन्त महत्वपूर्ण अवसर मिल्यो ।
गभर्नर हुँदा क्लब भिजिट गर्न रुचाउने राठीले आफ्नो पालामा ६ वटा नयाँ क्लब खोलेका थिए । शाकाहारी भोजन र पानका सौखिन उनी साँझतिर साथीभाईसँग रमाइलो गर्न मन पराउने खालका थिए भन्ने उनका दौंतरीहरुको कथन रहेको छ ।
लायन्स क्लब्स अन्तराष्ट्रियको विधान (Constitution by Laws) को ज्ञाताका रुपमा चिनिने राठी आफू पनि नीति नियमको पूर्ण पालना गर्न लगाउने खालका एवं अलि कामकाजी खालका थिए । प्रायः नजिकका साथीहरुलाई ठाडै गाली गर्ने र हप्काउने बानी भए पनि काम गर्ने तथा व्यक्तिगत मामिलामा ज्यादै कोमल ह्रृदय भएका व्यक्ति थिए ।
टाउको हल्लाउँदै छिटो छिटो बोल्ने स्वभाव भएका लायन राठीको पालामा नेपालले प्रोभिजनल डिष्ट्रिक्टको मान्यता पायो । नेपाललाई ३२२ ई अन्तर्गतको डिष्ट्रिक्टमै राख्ने वा छुट्टै आफ्नो डिष्ट्रिक्ट बनाउने भन्ने बारेमा नेपाली लायन लिडरहरुबीच विवाद चलेको थियो । आफैं ३२२ ई को समेत गभर्नर भएकाले र नेपालको लायनवाद परिवक्व नभइसकेको हुँदा केही समय नेपाल ३२२ ई अन्तर्गत नै रहनु उचित हुन्छ भन्ने अडानमा उनी रहिरहे ।
नेपाली लिडरहरुबिच मतभेद बढ्दै गएपछि गभर्नर राठीले नै हेडक्वार्टरबाट यस मुद्धाको टुंगो लगाउने एक टास्क फोर्सको माग गरी विवाद टुंग्याएका थिए । विधि र विधानभन्दा ठूलो कोही छैन भन्ने कथन बारम्बार बताउने सत्यनारायण राठीका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनका क्याबिनेट सेक्रेटरी ठाकुर हिरासिंह र ट्रेजरर पिएल अग्रवाल थिए । सरकारी जागिरको अलावा राठी एन्ड एसोसिएट नामक व्यवसायिक संस्थाको प्रमुखको रुपमा उनी निरन्तर क्रियाशिल रहे ।
(शताब्दीमा लायन्स पुस्तकबाट साभार)