पहिलोपटक चन्द्रमा पुग्ने लायन निल आर्मस्ट्रङ
धेरैलाई थाहा नहुन सक्छ निल आर्मस्ट्रङ लायन्स क्लबका सदस्य पनि हुन् भनेर । उनी १९६२ को नोभेम्बर १२ मा वापाकोनेता लायन्स क्लबमा आबद्ध भएका थिए ।
सन् १९३० अगष्ट ५ मा अमेरिकाको ओहायोमा निलको जन्म भएको हो । उनले अमेरिकी नौसेना र विमानचालकका रुपमा पनि काम गरेका थिए ।
चन्द्रमाको सतहमा उनले २० जुलाई १९६९ का दिन पाइला टेकेका थिए । उनले त्यतिबेला भनेका थिए – मानिसका लागि यो सानो पाइला हो, मानव सभ्यताका लागि भने एउटा ठूलो फड्को हो ।
अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ नासाको सबैभन्दा दक्ष अन्तरिक्ष यात्रीमध्ये एक हुन् । निलको कुशल क्षमता र परिस्थितिलाई सम्हाल्न सक्ने क्षमताका कारण नै चन्द्रमामा मानव पुग्न सफल भएको हो । उनले ८ दिन १४ घण्टा १२ मिनेट ३० सेकेन्ड अन्तरिक्षमा समय बिताएका थिए ।
निलको यान छेउमा उबाड–खाबड चन्द्रमा थियो। इन्धन सकिँदै जान लागेको अलार्म बजिरहेको थियो। तर निलले उक्त समयमा सहज रुपमा आफ्नो यानलाई चन्द्रमाको सतहमा उतारे। यो मानिसका लागि लामो छलाङ थियो। निलले आफ्नो मिसनबारे अन्तर्वार्ता दिँदा पनि यो सफलता हजारौं मानिसको योगदानका कारण सफल भएको भन्ने गरेका थिए।
समाजसेवामा सक्रिय निलको सन् २०१२ अगष्ट २५ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।