• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

बुबाको मुख हेर्ने दिन : लायन्स सदस्यले हेर्नुपर्ने अर्को एउटा अनुहार—मेल्भिन जोन्स

२०८३ भदौ २६ शुक्रबार ०७:२४:०० मा प्रकाशित

आज बुबाको मुख हेर्ने दिन । नेपाली समाजमा आफ्ना बुबाप्रति सम्मान, कृतज्ञता, प्रेम र जिम्मेवारी व्यक्त गर्ने विशेष दिन हो आज । कुशे औँसीका नामले पनि चिनिने यो दिनमा छोराछोरीले आफ्ना बुबाको अनुहार हेर्छन्, आशीर्वाद लिन्छन्, मिठाई तथा उपहार दिन्छन् र आफूलाई यहाँसम्म ल्याइपुर्‍याउन बुबाले गरेको त्याग सम्झन्छन् । बुबा जीवित हुनुहुन्न भने उहाँको सम्झनामा श्राद्ध, तर्पण तथा पितृकार्य गर्ने परम्परा पनि छ ।

तर आजको यो विशेष दिनमा एउटा प्रश्न उठाउन सकिन्छ—लायन्स सदस्यहरूले आफ्नो बुबाको मुख हेरेपछि अर्को कुन अनुहार हेर्नुपर्छ? त्यो अनुहार हो — मेल्भिन जोन्सको किनकि हामीले मेल्भिन जोन्सलाई लायन्स क्लब इन्टरनेसनलका संस्थापक भनेर सम्झेर मात्र पुग्दैन । उहाँले देखाउनुभएको बाटो, सेवा गर्ने सोच र समाजप्रतिको उत्तरदायित्वलाई आफ्नो व्यवहारमा उतार्नु नै उहाँप्रति सच्चा सम्मान हो ।

मेल्भिन जोन्स एक व्यक्तिको नाम होइन, समाजसेवाको प्रतीक एक सिंगो विचार हुनुहुन्छ, भावना हुनुहुन्छ, मर्म हुनुहुन्छ । एउटा यस्तो विचार, जसले सफल मानिसको सफलता केवल आफ्नै जीवन सुधार्नमा सीमित हुनु हुँदैन, समाजको हितमा पनि प्रयोग हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सफल भयो । आज संसारभर फैलिएको लायन्स आन्दोलनको मूलमा यही सोच रहेको छ ।

मेल्भिन जोन्स : व्यवसायबाट सेवातर्फको यात्रा
मेल्भिन जोन्सको जन्म सन् १८७९ जनवरी १३ मा अमेरिकाको एरिजोनामा भएको थियो। पछि उहाँको परिवार इलिनोइसमा बसाइँ सर्‍यो । उहाँले सुरुमा संगित क्षेत्रमा आफ्नो भविष्य खोज्ने सोच राखे पनि पछि बीमा व्यवसायमा प्रवेश गर्नुभयो । सन् १९१३ सम्म आइपुग्दा उहाँले शिकागोमा आफ्नै बीमा एजेन्सी सञ्चालन गरिसक्नुभएको थियो ।

त्यतिबेला उहाँ व्यवसायीहरूको एउटा क्लबमा आबद्ध हुनुहुन्थ्यो । त्यस्ता क्लबहरूको मुख्य उद्देश्य व्यावसायिक सम्बन्ध विस्तार गर्नु थियो । तर मेल्भिन जोन्सको सोच त्यसभन्दा फराकिलो थियो । उहाँले एउटा महत्त्वपूर्ण प्रश्न उठाउनुभयो—सफल मानिसहरूले आफ्नो क्षमता, ज्ञान, अनुभव र स्रोतलाई समुदायको सुधारका लागि किन प्रयोग नगर्ने? यही प्रश्नले एउटा ठूलो सामाजिक अभियानको जन्म दियो ।

सन् १९१७ जुन ७ मा शिकागोमा लायन्स क्लबको सुरुवात भयो । मेल्भिन जोन्सले त्यसलाई व्यवसायीहरूको संगठनका रूपमा होइन, सेवामुखी संगठनका रूपमा विकास गर्ने आधार तयार गर्नुभयो । त्यसपछि सन् १९५८ मा अन्तर्राष्ट्रिय बोर्डले जोन्सलाई आधिकारिक रूपमा लायन्स क्लबहरूको संस्थापकका रूपमा मान्यता दियो । त्यसैले आज संसारका विभिन्न देशमा लाखौँ लायन्स सदस्यहरूले सेवा गरिरहँदा त्यस सेवाको मूल विचारसम्म पुग्ने हो भने हामी फेरि मेल्भिन जोन्सकै अनुहारमा पुग्छौँ । मेल्भिन जोन्सको भावनालाई आत्मसात् गर्दै नेपालमा लायन्स क्लबको सुरुवात गर्ने मातृका प्रसाद कोइरालालाई पनि हामीले सम्झनु पर्छ । 

बुबा र मेल्भिन जोन्सबीचको सम्बन्ध के हो?
पहिलो नजरमा हेर्दा बुबाको मुख हेर्ने दिन र मेल्भिन जोन्सबीच प्रत्यक्ष सम्बन्ध नदेखिन सक्छ । बुबा परिवारका मार्गदर्शक हुन् भने मेल्भिन जोन्स एउटा अन्तर्राष्ट्रिय सेवामूलक संस्थाका संस्थापक । तर गहिरिएर हेर्ने हो भने दुवैबीच एउटा महत्त्वपूर्ण समानता छ—मार्गदर्शन । हामीले सधैं "मेल्भिन बा" भन्नुको कारण पनि यहि हो । 

बुबाले आफ्नो परिवारलाई सही बाटो देखाउँछन् । परिवारको भविष्यका लागि त्याग गर्छन् । आफ्ना सन्तानले राम्रो जीवन बिताऊन् भन्ने चाहन्छन् । मेल्भिन जोन्सले पनि एउटा संगठनलाई यस्तो बाटो देखाउनुभयो, जहाँ व्यक्तिगत सफलता मात्र होइन, समुदायको पीडा बुझ्ने र अरूका लागि काम गर्ने संस्कार महत्त्वपूर्ण बन्यो ।

बुबाले परिवारलाई संस्कार दिन्छन् । मेल्भिन जोन्सले लायन्स सदस्यहरूलाई सेवाको संस्कार दिनुभयो । बुबाले सन्तानलाई ‘अरूलाई दुःख नदिनू, सकेको सहयोग गर्नू’ भन्न सक्छन् । मेल्भिन जोन्सको विचारले यही भावनालाई संगठित सामाजिक अभियानमा रूपान्तरण गर्‍यो ।

त्यसैले आज बुबाको मुख हेर्ने दिनमा लायन्स सदस्यका लागि मेल्भिन जोन्सलाई सम्झनु भनेको संस्थापकलाई सम्झनु होइनÙ सेवाको मूल संस्कारलाई सम्झनु हो । आज सामाजिक सञ्जालमा हामी धेरै अनुहार हेर्छौं । प्रसिद्ध व्यक्तिका अनुहार हेर्छौं । राजनीतिक नेताका अनुहार हेर्छौं । कलाकार, खेलाडी र विभिन्न क्षेत्रका सफल व्यक्तिका अनुहार हेछौंं । 

तर लायन्स सदस्यले यो दिन आफ्नो संगठनको जन्मदाता मेल्भिन जोन्सको अनुहार पनि हेर्नुपर्छ । त्यो अनुहार हेर्दा एउटा प्रश्न आफैँलाई सोध्नुपर्छ— ‘म लायन्स सदस्य किन बनेँ?’ पदका लागि? सम्मानका लागि? परिचयका लागि? सम्बन्ध विस्तारका लागि? अथवा साँच्चिकै सेवाका लागि?

यदि लायन्सको सदस्यता पद, प्रतिष्ठा, फोटो र कार्यक्रममा सीमित भयो भने हामीले मेल्भिन जोन्सको मूल भावना बुझ्न सकेनौँ । समाजसेवाका बुबाको भावना लिन सकेनौं भन्ने ठहर हुन्छ । तर कुनै विपन्न परिवारको घरमा राहत पुर्‍याउँदा, बिरामीको उपचारमा सहयोग गर्दा, विपदमा परेकालाई साथ दिँदा, विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदा, दृष्टिविहीन व्यक्तिका लागि काम गर्दा वा समुदायको कुनै वास्तविक समस्या समाधान गर्न अगाडि बढ्दा—त्यहाँ मेल्भिन जोन्सको विचार जीवित हुन्छ ।

लायन्स क्लब : सकारात्मक सामाजिक प्रक्रियाको एउटा माध्यम
लायन्स क्लबलाई एउटा सामान्य क्लबका रूपमा बुझ्नु यसको वास्तविक अर्थलाई सानो बनाउनु हो । लायन्स एउटा सकारात्मक सामाजिक प्रक्रिया हो । समाजमा समस्या हुन्छ । कसैले समस्या देख्छ । कसैले त्यसबारे कुरा गर्छ । तर लायन्सको मूल दर्शनले समस्या देखेपछि त्यसको समाधानका लागि केही गर्न प्रेरित गर्छ ।

यही कारण लायन्सको आधिकारिक मूल भावना आज पनि ‘हामी सेवा गर्छौँ’ भन्ने विचारमा केन्द्रित छ । लायन्स इन्टरनेसनलले आफ्नो वर्तमान दृष्टिकोणमा पनि सेवा नै संगठनको आधार भएको र सानो वा ठूलो प्रत्येक सेवाकार्यले सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने बताएको छ । यस अर्थमा लायन्स क्लब एउटा संस्था मात्र होइन, समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने संयन्त्र हो ।

एउटा राम्रो लायन्स क्लबले समाजमा समस्या खोज्छ । समस्या पहिचान गर्छ। सम्बन्धित व्यक्तिसँग सहकार्य गर्छ । स्रोत जुटाउँछ । समाधानको प्रयास गर्छ । अनि त्यसबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउँछ । यही नै मेल्भिन जोन्सको वास्तविक विरासत हो ।

आजको दिनमा मेल्भिन जोन्सलाई कसरी सम्झने?
आज बुबाको मुख हेर्दा हामीले उहाँलाई मिठाई, फलफूल वा कपडा उपहार दिन सक्छौँ । तर सबैभन्दा ठूलो उपहार भनेको बुबाले सिकाएको राम्रो संस्कारलाई जीवनमा लागू गर्नु हो । उहाँको विचारलाई आफ्नो कर्ममा उतार्नु हो ।

हामी सबै लायन्स सदस्यले पनि विभिन्न सामाजिक कार्यहरूमा मेल्भिन जोन्सको विचारको झल्को देखिने काम गर्न सक्छौं । त्यही नै हो मेल्भिन जोन्सको सम्झना । 

बुबाको आशीर्वादले सन्तानलाई अगाडि बढ्ने हिम्मत दिन्छ । त्यसैगरी मेल्भिन जोन्सको दर्शनले लायन्स सदस्यलाई अरूका लागि केही गर्ने प्रेरणा दिन्छ । बुबालाई सम्मान गर्नु हाम्रो पारिवारिक संस्कार हो । समाजको सेवा गर्नु लायन्स संस्कार हो । र यी दुवैको केन्द्रमा एउटा सामान मूल्य छ—निःस्वार्थ प्रेम ।

अन्तमा,
आज बुबाको मुख हेर्ने दिनमा प्रत्येक लायन्स सदस्यले आफ्नो बुबाको अनुहार हेर्दै गर्दा एकपटक मेल्भिन जोन्सको अनुहार पनि सम्झनुपर्छ । बुबाको अनुहारले हामीलाई हाम्रो जरा सम्झाउँछ । मेल्भिन जोन्सको अनुहारले हाम्रो सेवाको जरा सम्झाउँछ । बुबाले हामीलाई जीवन दिनुभयो । मेल्भिन जोन्सले एउटा यस्तो सामाजिक अभियानको बीजारोपण गर्नुभयो, जसले लाखौँ मानिसलाई अरूको जीवनमा उज्यालो ल्याउने अवसर दिएको छ ।

त्यसैले आज हामीले एउटा नयाँ अर्थमा भन्न सक्छौँ— ‘बुबाको मुख हेर्ने दिन घरका बुबाको मुख हेर्ने दिन मात्र होइन, लायन्स सदस्यका लागि सेवाका पिता मेल्भिन जोन्सको दर्शन हेर्ने दिन पनि हो।’

बुबाको मुख हेरौँ,
मेल्भिन जोन्सको दर्शन बुझौँ,
र सेवाको बाटोमा अझ एक कदम अघि बढौँ ।

मलाई मेरो बुबाले सिकाउनुभएको जीवन पनि यहि हो । मेरो बुबा भौतिक रुपमा म सँगै हुनुहुन्नँ । म बुबालाई सधैं सम्झिन्छु । आज दुवै "बा" हरुलाई विशेष सम्झना ।