• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

बाढीले घर मात्र होइन, जीवनका सपनाहरू पनि बगाउँछ

२०८३ भदौ २२ सोमबार २१:५०:०० मा प्रकाशित

कहिलेकाहीँ प्रकृतिले मानिसलाई यस्तो कठोर परीक्षा दिन्छ, जहाँ शब्दहरू पनि असहाय हुन्छन्। आँखाले देखेको पीडा व्यक्त गर्न कलमले साथ दिँदैन र भोगेको दुःख सम्झन मनले पनि साहस गर्दैन। नेपालमा आएको विनाशकारी बाढी त्यस्तै एउटा त्रासदी हो, जसले केवल नदीका किनार मात्र काटेन, खेतबारी मात्र बगाएन, घरगोठ मात्र भत्काएन, यसले हजारौँ परिवारको जीवनको आधार, वर्षौंको श्रम, भविष्यका सपना र सुरक्षित भोलिप्रतिको विश्वाससमेत एकैपटक बगाएर लग्यो। कसैको घर रहेन, कसैको खेत रहेन, कसैको व्यवसाय रहेन।

कतिपय परिवारले जीवनभरको कमाइ केही घण्टामै गुमाउन पुगे। कतै बाबुआमाको सहारा खोसियो, कतै बालबालिकाको सुरक्षित संसार उजाडियो। कतिपय गाउँ र बस्तीमा बाढीको पानी ओर्लिएपछि पनि पीडा ओर्लिएन। बाँकी रह्यो त केवल भत्किएका संरचना, माटोले पुरिएका सम्झनाहरू, शून्य आँखाहरू र एउटा गहिरो प्रश्न अब फेरि जीवन कहाँबाट सुरु गर्ने ? यस्तो विपत्तिको क्षति पैसाले मात्र नाप्न सकिँदैन। घरको मूल्य तोक्न सकिएला, खेतको मूल्य भन्न सकिएला, व्यवसाय र सम्पत्तिको हिसाब गर्न सकिएला तर आमाको काखको मूल्य हुँदैन, बाबुको जीवनभरको पसिनाको मूल्य हुँदैन, पुस्तौँदेखि जोडिएको घरसँग गाँसिएका सम्झनाहरूको कुनै मूल्य हुँदैन।

बाढीले भौतिक संरचना भत्काउँदा त्यसलाई पुनर्निर्माण गर्न सकिन्छ, तर गुमेको जीवन, गुमेको आफन्त र गुमेको मानसिक शान्तिलाई पहिलेकै अवस्थामा फर्काउन सकिँदैन।तर प्रत्येक विपत्तिको अँध्यारोभित्र मानवताको एउटा उज्यालो पनि जन्मिन्छ। दुःखले मानिसलाई कमजोर मात्र बनाउँदैन, कहिलेकाहीँ त्यसले मानिसभित्र लुकेको करुणा, उत्तरदायित्व र सहअस्तित्वको भावनालाई अझ गहिरोसँग उजागर गरिदिन्छ। आज नेपालले भोगिरहेको पीडाबीच त्यही मानवताको कथा पनि लेखिँदैछ । एकअर्काको दुःखलाई आफ्नो दुःख सम्झेर हातेमालो गर्ने, आँसु पुछ्ने र भत्किएको जीवनलाई फेरि उठाउन काँध दिने कथा।

यस कठिन र संवेदनशील घडीमा Lions Clubs International Foundation ले नेपालका विपदमा परेकाहरुका लागि तत्काल US $ 200,000 को Emergency Grant उपलब्ध गराएको छ। यो सहयोग एउटा आर्थिक अनुदान मात्र होइन, संकटको समयमा नेपाल एक्लो छैन भन्ने अन्तर्राष्ट्रिय Lions परिवारको स्पष्ट सन्देश हो। संसारका विभिन्न भूगोलमा सेवा गर्दै आएको Lions परिवारले नेपालको दुःखमा आफ्नो संवेदना, प्रतिबद्धता र सेवाभावलाई व्यवहारमै उतार्नु मानवीय ऐक्यबद्धताको उदाहरण हो।

यसै क्रममा नेपालका विभिन्न District तथा Multiple District अन्तर्गतका Lions Club र सदस्यहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँभन्दा बढी रकम योगदान गरेका छन्। यो रकमको अंकभन्दा त्यसको पछाडि रहेको भावना अझ ठूलो छ। यसमा हजारौँ Lions सदस्यको संवेदना छ, सेवाको संस्कार छ र विपत्तिमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीलाई तिमीहरू एक्लै छैनौ भन्ने आत्मीय सन्देश छ।

तर आज एउटा गम्भीर प्रश्न हामी सबैका सामु उभिएको छ। के यति मात्र पर्याप्त छ ? सायद छैन । किनकि विपत्तिको पहिलो चरण उद्धार हो, त्यसपछि राहत आउँछ र त्यसपछि सुरु हुन्छ अझ कठिन यात्रा, पुनःस्थापना र पुनर्निर्माणको। आज पीडित परिवारलाई खाना, पानी, औषधि र सुरक्षित आश्रय आवश्यक छ । तर भोलि उनीहरूलाई आफ्नो घर पुनःनिर्माण गर्नुपर्छ, बालबालिकालाई विद्यालय फर्काउनुपर्छ, खेतबारी र व्यवसाय पुनःसञ्चालन गर्नुपर्छ र आत्मनिर्भर जीवन फेरि स्थापित गर्नुपर्छ। त्यसैले राहतको हात आज मात्र होइन, पुनर्निर्माण सम्पन्न नभएसम्म निरन्तर अघि बढिरहनुपर्छ।

हामीले बुझ्नुपर्ने अर्को सत्य के हो भने विपदमा परेको मानिसले सहयोग माग्दा उसले केवल पैसा मागिरहेको हुँदैन। उसले आफ्नो दुःख बुझिदिने मन खोजिरहेको हुन्छ, आफ्नो हात समातिदिने मान्छे खोजिरहेको हुन्छ र आफू भत्किए पनि संसार पूर्ण रूपमा निर्दयी भइसकेको छैन भन्ने विश्वास खोजिरहेको हुन्छ। त्यसैले सहयोगको वास्तविक अर्थ रकमको आकारमा होइन, त्यसले पीडितको जीवनमा जगाउने आशामा निहित हुन्छ। आज बाढीले अरूको घर बगाएको छ। भोलि त्यही प्रकृतिको प्रहार हाम्रो ढोकासम्म आइपुग्न सक्छ। आज कसैको परिवार विपत्तिमा परेको छ, भोलि हामीलाई पनि अपरिचित कसैको हात आवश्यक पर्न सक्छ। यही त मानव जीवनको सबैभन्दा गहिरो सत्य हो । हामी फरक घरमा बस्छौँ, फरक भूगोलमा बाँच्छौँ र फरक परिस्थितिमा जीवन बिताउँछौँ ।तर अन्ततः हामी एउटै मानव परिवारका सदस्य हौँ।

त्यसैले आज सहयोगको आवश्यकता पहिलेभन्दा अझ ठूलो छ। सहयोग उठिरहेको छ, उठ्दै जानुपर्छ र अझ व्यवस्थित, पारदर्शी तथा दीर्घकालीन रूपमा उठाउनुपर्छ। Lions परिवारका District, Multiple District, Club तथा प्रत्येक सदस्यसँगै सामाजिक संस्था, उद्योगी व्यवसायी, दातृ निकाय र हरेक संवेदनशील नेपाली मनले आफ्नो सामर्थ्यअनुसार योगदान गर्नुपर्ने समय यही हो। सहयोग ठूलो हुनुपर्छ भन्ने छैन, मन ठूलो हुनुपर्छ। कसैले ठूलो रकम दिन सक्छ, कसैले आफ्नो क्षमताअनुसार सानो रकम। कसैले एउटा परिवारलाई केही दिनको भोजन उपलब्ध गराउन सक्छ, कसैले औषधि, कपडा वा शैक्षिक सामग्री जुटाउन सक्छ। कसैले प्रत्यक्ष रूपमा सेवा गर्न सक्छ भने कसैले सहयोग गर्ने अर्को हातलाई पीडितसम्म पुर्‍याउन सक्छ।

आर्थिक रूपमा सहयोग गर्न नसक्ने अवस्थामै भए पनि यो सन्देश अरूसम्म पुर्‍याएर सहयोगको एउटा नयाँ ढोका खोल्न सकिन्छ। किनकि हिलेकाहीँ एउटा Share ले अर्को सहयोगी जोड्छ, एउटा फोनले एउटा परिवारसम्म राहत पुर्‍याउँछ र एउटा सानो पहलले हजारौँ हातलाई एउटै उद्देश्यमा जोडिदिन्छ। विपत्तिको समयमा सहयोगको शक्ति केवल रकममा हुँदैन। त्यसलाई सही ठाउँसम्म पुर्‍याउने इच्छाशक्ति, समय, श्रम, सूचना र मानवीय संवेदनामा पनि त्यसको ठूलो अर्थ हुन्छ।

हामीले आज गरेको सहयोगको वास्तविक मूल्य सायद आजै देखिँदैन। तर कुनै दिन एउटा आमाले आफ्ना सन्तानलाई सुनाउन सक्नेछिन, त्यो विनाशकारी बाढीले हाम्रो घर, सम्पत्ति र जीवनको आधार सबै बगाएको थियो, तर त्यो कठिन समयमा मानिसहरूले हामीलाई एक्लो हुन दिएनन्। यदि हाम्रो आजको सहयोगले कसैको जीवनमा त्यस्तो विश्वास जन्माउन सक्छ भने, त्यही सेवाको सबैभन्दा ठूलो उपलब्धि हुनेछ।

सायद वर्षौँपछि हामीमध्ये धेरैलाई आफूले कति रुपैयाँ सहयोग गरेका थियौँ भन्ने सम्झना नहुन सक्छ। तर हाम्रो सामूहिक सहयोगले फेरि उठेको एउटा घर, विद्यालय फर्किएको एउटा बालक, पुनःसञ्चालन भएको एउटा सानो व्यवसाय वा आफ्नै खेतमा फेरि उभिएको एउटा परिवारले हाम्रो सेवाको कथा सधैँ सम्झिरहनेछ। इतिहास ठूला भवनहरूले मात्र लेखिँदैन । कहिलेकाहीँ विपत्तिको समयमा बढाइएको एउटा हातले पनि इतिहास वेख्दछ ।त्यसैले आज हामीले राहत मात्र होइन, आशा दिनुपर्छ। सहयोग मात्र होइन, पुनःजीवनको आधार दिनुपर्छ। सहानुभूति मात्र होइन, निरन्तर साथ दिनुपर्छ। किनकि Lions को अर्थ केवल सेवा गर्ने संस्था हुनु होइन, पीडाको समयमा मानवताको पक्षमा उभिनु, जहाँ आवश्यकता छ त्यहाँ पुग्नु र जहाँ जीवन भत्किएको छ त्यहाँ पुनःआशाको जग बसाल्नु पनि हो।

बाढीले बस्ती डुबाउन सक्छ, घर भत्काउन सक्छ, सम्पत्ति खोस्न सक्छ र जीवनलाई गहिरो घाउ दिन सक्छ तर मानवताको हात समातेर उभिएको आशालाई कहिल्यै डुबाउन सक्दैन। यही विश्वासका साथ आज नेपालका लागि हजारौँ हातहरू जोडिन आवश्यक छ। नेपाल फेरि उठ्नेछ। भत्किएका घरहरू फेरि बन्नेछन्, उजाडिएका बस्तीहरू फेरि मुस्कुराउनेछन्, खेतबारीमा फेरि हरियाली फर्कनेछ र आज आँसुमा डुबेको जीवनले भोलि फेरि उज्यालो देख्नेछ। तर त्यो पुनर्जागरण आफैँ हुनेछैन। त्यसका लागि आज हामीले आफ्नो ठाउँबाट एउटा कदम चाल्नुपर्छ, एउटा हात बढाउनुपर्छ र एउटा जिम्मेवारी स्वीकार गर्नुपर्छ।

आउनुहोस्, यो विपत्तिलाई केवल दुःखको घटनाका रूपमा नहेरौँ, यसलाई मानवताको परीक्षा र हाम्रो सामूहिक उत्तरदायित्वको अवसरका रूपमा लिऔँ। सेवा गरौँ, सहयोग गरौँ, सहयोग जुटाऔँ र अरूलाई पनि जोडौँ। आज पीडितका लागि उठेको प्रत्येक हात भोलिको नेपालको पुनर्निर्माणको एउटा बलियो आधार बन्न सक्छ। किनकि विपत्तिले हामीलाई कति गुमायौँ भनेर सम्झाउँछ, तर मानवताले हामीसँग अझै कति दिन सक्ने सामर्थ्य छ भनेर सिकाउँछ।
जय होस । जय लायनवाद !!!

(लेखक लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ई का पाष्ट डिष्ट्रिक्ट गभर्नर हुनुहुन्छ ।)