विश्वयुद्धले जन्मेको सामाजिक संस्था
युद्धले विनाश गर्छ, विनाशले संकट ल्याउँछ र संकटले मानवता पुनः जागृत हुन्छ । यो सत्य कुरा हो ।
सन् १९१४ को जुलाई २८ देखि १९१८ नोभेम्बर ११ सम्म पहिलो विश्वयुद्ध भयो । त्यसक्रममा ४० लाख भन्दा बढी मानिस मारिए । जनधनको ठूलो क्षतिसँगै मानवता हरायो ।
अहिलेको शक्तिराष्ट्र अमेरिका प्रथम विश्वयुद्धमा सुरुमा प्रत्यक्ष रुपमा सहभागी थिएन । हतियार र अन्य आवश्यक सहयोग उपलब्ध गराईरहेको अमेरिका १९१७ को सुरुवातीदेखि भने प्रत्यक्ष रुपमा नै युद्धमा सामेल भयो ।
कूटनीतिक हिसाबमा सहभागी बनेको अमेरिकाले कच्चा पदार्थ र हातहतियार आपूर्तिसहित ४ लाख सेनालाई युद्धमा परिचालन ग-यो । यसपछि चलेको युद्धमा १ लाख १५ हजार भन्दा बढी सैनिक र गैरसैनिक जनशक्ति अमेरिकाले गुमायो ।
पहिलो विश्वयुद्धले युद्धग्रस्त देशहरुमा मानवता हरायो । अमेरिकामा पनि संकट उत्पन्न भयो । त्यहाँको जनजीवन, समाज झनै प्रभावित भए । मानिसहरुबीच सहयोगको भावना हराउन थाल्यो । सबै आफ्नै लागि मात्र सोच्न थाले । सकारात्मक सोच भन्दा बढी नकारात्मक सोच पलाउन थाल्यो । मानवताको साटो अविश्वास र आपसी बेमेलको वातावरण बन्न थाल्यो ।
युद्धमा मारिएका झन्डै १ लाख १० हजार अमेरिकी सैनिकहरु तुलनात्मक रुपमा विपन्न परिवारका भएका कारण उनीहरुसँग सम्बन्धित व्यक्ति र आश्रित परिवारमा अझ ठूलो चोट पुग्यो । यो संख्या लाखौंको थियो । बाँच्नका लागि संघर्ष र लुटपाटका अवस्था आउन थाल्यो । समाजको सहिष्णुता तथा एक आपसको अपनत्व र भाइचारा एवम् मानवताको सम्बन्ध टुक्रा टुक्रा भयो ।
प्रथम विश्वयुद्धबाट आहत बन्न पुगेको अमेरिकी समाजमा नयाँ किसिमले मानवताको भावना जगाउन आवश्यक थियो । सहयोग र सद्भाव विकसित गर्नुपर्ने आवश्यकता आयो । मानिसहरु खानै नपाएर भोकभोकै मर्नुपर्ने अवस्थामा पुगेको डरलाग्दो परिस्थिती अमेरिकीहरुको सामुन्नेमा थियो । यस्तो भयानक सामाजिक त्रासदीलाई कसरी सामान्य बनाउन सकिएला र मानिस मानिस बीच आपसी सहयोग बढाउन तथा आपसमा दुःख साटासाट गर्न पाउने वातावरण कसरी बनाउन सकिएला भन्ने भावना केही मानिसहरुमा पैदा भइरहेको थियो ।
पवित्र भावना भएका समाजका केही व्यक्तिहरुमा समाजलाई यो नैराश्य र विकृतिबाट माथि उकास्नुपर्छ भन्ने भावना क्रमशः पलाउँदै गइरहेको थियो । यस्तै कोमल ह्दय भएका व्यक्तिहरु मध्येका एक थिए सिकागो सहरका प्रतिष्ठित व्यवसायी मेल्भिन जोन्स ।
क्रमशः......