• मंगलबार ११ कार्तिक २०८३ / Tuesday, October 27,2026

कोस्टारिकाको सान होसेमा लायन्स FOLAC फोरम सम्पन्न

२०८२ माघ ४ आइतबार १९:५६:०० मा प्रकाशित

सान होसे, कोस्टारिका — लायन्स क्लब इन्टरनेशनलको संविधान क्षेत्र–५ (Latin America) अन्तर्गतको FOLAC Forum कोस्टारिकाको सान होसे शहरमा भव्य रूपमा सम्पन्न भएको छ। “Pura Vida” अर्थात् शुद्ध र सकारात्मक जीवनशैलीको भावनासहित सम्पन्न फोरमले शान्ति, प्रकृति संरक्षण र विश्वव्यापी भाइचारा प्रवर्द्धन गर्ने सन्देश दिएको छ।

सेनारहित राष्ट्रको रूपमा परिचित कोस्टारिकाले वन विनाश उल्ट्याउँदै पुनः वन क्षेत्र विस्तार गरेको, समावेशितालाई उच्च प्राथमिकता दिएको र प्रकृति संरक्षणमा उदाहरणीय भूमिका खेलेको सन्दर्भमा फोरम अझ अर्थपूर्ण बनेको थियो।

फोरमलाई कोस्टारिकाका दुई जना पूर्व राष्ट्रपतिहरूले सम्बोधन गर्दै विश्व शान्ति प्रवर्द्धन, आपसी भाइचाराको संरक्षण र विश्वव्यापी तापक्रम वृद्धिलाई उल्ट्याउन आवश्यक कदम चाल्नुपर्ने विषयमा लायन्स सदस्यहरूलाई प्रेरणादायी विचार प्रस्तुत गरे। राष्ट्रका शीर्ष नेतृत्वबाट लायन्स अभियानप्रति देखाइएको सम्मानले सहभागीहरूलाई उत्साहित बनाएको थियो।

दक्षिण अमेरिकाका विभिन्न देशहरूबाट आएका करिब १,२०० प्रतिनिधिहरूको सहभागिता रहेको फोरमअन्तर्गत सान होसे सहरमा भव्य डाउनटाउन परेड, ज्ञानवर्द्धक सेमिनारहरू, प्रतिनिधि सत्रहरू तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। संगीत र गायनसहितको आत्मीय मेलमिलाप कार्यक्रमले फोरमलाई अझ स्मरणीय बनाएको थियो, जुन यस क्षेत्रको संस्कृतिको अभिन्न हिस्सा हो।

लायन्स सदस्यहरूको सेवा भाव, शान्तिप्रतिको प्रतिबद्धता र प्रकृति संरक्षणप्रतिको गहिरो चासोले FOLAC Forum 2026 लाई अन्तर्राष्ट्रिय स्तरमै प्रेरणादायी कार्यक्रमका रूपमा स्थापित गरेको छ। यो फोरममा लायन्स इन्टरनेसनलका प्रेसिडेन्ट लायन एपि सिंह लगायत अन्य सिनियर लायन्स लिडरहरुको सहभागिता थियो ।