अहमदावादमा घुम्नै पर्ने शिर्ष १० स्थानहरु
भारतको गुजरात राज्यमा पर्ने अहमदावाद प्रमुख पर्यटकीय स्थान हो । अहमदावाद स्वादहरुको संगम र मिठासपूर्ण शहर हो । यो शहरलाई युनेस्कोले हेरिटेज सिटीको रुपमा पनि घोषित गरेको छ । शहरको खुशीले भरिएको जीवनशैली र त्यहाँका पुरातात्विक तथा वास्तुकलात्मक धरोहरहरु अहमदावादको गौरव हुन् ।
लायन्स सदस्यहरुको कुम्भमेला इसामे फोरम २०२५ यसै शहरमा हुँदैछ । इसामे फोरममा सहभागी हुन उक्त शहरमा जाँदैहुनुहुन्छ भने यी १० ठाउँहरु घुम्न नछुटाउनुहोला :
१. साबरमती आश्रम
अहमदावाद भन्नासाथ सबैभन्दा पहिलो स्मरण नै साबरमती आश्रम वा गान्धी आश्रम हो । साबरमती नदीको किनारमा रहेको यो स्थानबाट भारतको स्वतन्त्रता र संघर्षका धेरै महत्वपूर्ण गतिविधिहरु सञ्चालन भएका थिए । यो महात्मा गान्धीको निवासस्थान पनि भएकाले यहाँ गान्धीको चस्मा, चप्पलदेखि लिएर पुस्तकहरुसम्म पनि सुरक्षित छन् । ३५ हजार भन्दा बढी पुस्तकहरु रहेको विशाल पुस्तकालय पनि यहि नै छ ।
२. स्ट्याचु अफ युनिटी
विश्वको सबैभन्दा अग्लो प्रतिमा स्ट्याचु अफ युनिटी भारतका लौह पुरुष सरदार बल्लभभाई पटेललाई समर्पित छ । यस प्रतिमाको उदेश्य पटेलको देशभक्ति, आदर्श र एकताको सन्देश विश्वभर फैलाउनु हो । कास्यबाट बनेको यो प्रतिमा १८२ मिटर अग्लो छ । नर्मदा नदीको किनारमा अवस्थित यो प्रतिमा विश्वर चर्चित बनिसकेको छ ।
३. अक्षरधाम मन्दिर
आधुनिक शैली र हिन्दु पुराणको उत्कृष्ट संयोजनको रुपमा अक्षरधाम मन्दिरलाई लिन सकिन्छ । हरेक वर्ष करिब २० लाख भक्तजन यहाँ भगवान स्वामीनारायणको दर्शनका लागि आउने गर्दछन् । २३ एकड क्षेत्रफलमा फैलिएको यो मन्दिर ६ हजार टन गुलाबी बालुवापत्थरले बनेको हो । यसको भित्र सुनले बनेको भगवान् स्वामीनारायणको मूर्ति प्रतिष्ठित छ । यहाँ केहि धार्मिक चलचित्र पनि प्रदर्शन गरिन्छ ।
४. अटो वल्र्ड भिन्टेज कार म्युजियम
काठवाडको दस्तानमा रहेको अटो वल्र्ड भिन्टेज कार म्युजियममा १२० भन्दा बढी पुराना कार, ट्रक र घोडागाडीहरु प्रदर्शनमा छन् । यसलाई भिन्टेज एन्ड क्लासिक कार क्लब अफ इन्डियाले व्यवस्थापन गर्छ । श्री प्रणलाल भगिलाल पटेलले आफ्नै संग्रहलाई सार्वजनिक संग्राहालयमा परिणत गरेका हुन् । यहाँ १९०० देखि १९७० सम्मका राजदरबारका तथा औपनिवेशिक कालका कारणहरु देख्न पाइन्छ । १९०३ को फियाट कार यस संग्रहालयको सबैभन्दा पुरानो मोडल हो ।
५. लो गार्डेन नाइट मार्केट
अहमदावादको सबैभन्दा लोकप्रिय नाइट मार्केटमध्ये यो एक हो । यहाँ परम्परागत पोशाकहरु, गहनाहरु, घर सजावटका लागि सामाग्रहरु, जुत्ताचप्पलहरु खरीद गर्न सकिन्छ । सपिङ गर्न सौखिनहरुका लागि यो निकै उपयोगी स्थान हो । यसका साथै स्वादिलो गुजराती स्ट्रिट फुड बेच्ने स्टलहरुले यो बजारलाई अझै रमाइलो बनाउँछन् । खासगरी नवरात्रीको समय यो बजार निकै व्यस्त र भव्य हुने गर्दछ ।
६. भद्रा फोर्ट
अहमदावादको पुरानो शहर क्षेत्रमा रहेको भद्रा फोर्ट १४११ मा अहमद शाहले बनाएका थिए । सुन्दर मुर्तिकला, कलाकृतिले भरिएको किल्ला इतिहासप्रेमीहरुको आकर्षण केन्द्र हो । मराठीहरुले बनाएको भद्रकाली मन्दिरका कारण यसलाई भद्रा फोर्ट नाम दिइएको भनिन्छ । यहाँ भारतको गणतन्त्र दिवस र स्वतन्त्रता दिवसका कार्यक्रमहरु पनि आयोजना गरिन्छ ।
७ . झुल्ता मिनार
यो विश्वकै अत्यन्त अनौठा वास्तुकलात्मक चमत्कारमध्ये एक हो । यसको मुख्य विशेषता भनेको नै एक मिनारलाई हल्लाउँदा अर्को पनि केहि सेकेन्डमा आफै हल्लिने हो । यस रहस्यलाई धेरै वास्तुविद्हरुले बुझ्ने प्रयास गरे पनि आजसम्म यसको वैज्ञानिक कारण स्पष्ट हुन सकेको छैन । त्यसैले यो अहमदावादको आकर्षक पर्यटकीय स्थल बनेको छ ।
८. अदलज स्टेपवेल
गुजरातमा पानी अभाव समाधानका लागि बनेको अनौठो र ऐतिहासिक धरोहरका रुपमा अदलज स्टेपवेललाई लिन सकिन्छ । सन् १४९८ मा बनाइएको यो बावडी भुजलका लागि एक महत्वपूर्ण संरचना थियो । यसको छानोमा रहेको अष्टभूजाकार ठाउँबाट हावा र प्रकाश भित्र छिर्छ तर प्रत्यक्ष घाम भने भित्र पर्दैन । त्यसैले यसको तापक्रम बाहिरभन्दा करिब ६ डिग्री कम रहन्छ । यो गुजरातमै तीन प्रवेशढोका भएको एक मात्र स्टेपवेल हो ।
९. नलसरवर पंक्षी अवलोकन
११५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको नलसरवर पंक्षी अवलोकन स्थान भारतको सबैभन्दा ठूलो मध्येको एक हो । यहाँ २०० भन्दा बढी प्रजातीका जलपंक्षी भेटिन्छन् । गिद्ध, पेलिकन, सारस, आइबिस लगायतका चरा अवलोकनका लागि यो निकै उत्कृष्ट स्थान हो ।
१०. वस्त्रापुर ताल
अहमदावादको पश्चिम क्षेत्रमा रहेको वस्त्रापुर ताल आकर्षक र मनमोहक छ । चारैतिर हरियालीले घेरेको यो ताल घुम्नैपर्ने स्थानमा पर्दछ । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्नका लागि पनि यो स्थान लोकप्रिय छ । सुन्दर ढुंगे कलाकृतिसहितको बगैंचा यहाँको अतिरिक्त आकर्षण हो । पानी मन पराउनेहरुका लागि यहाँ बोटिङको पनि सुविधा छ । छेउमा रहेको बालउद्यानले बच्चाहरुसहितको पारिवारिक भ्रमणका लागि निकै रमाइलो र स्मरणीय बनाउनेछ ।
यी बाहेक अहमदावादमा घुम्नुपर्ने धेरै ठाउँहरु छन् । कलाकृति, धार्मिक सम्पदा, प्राकृतिक सुन्दरता र ऐतिहासिक धरोहरुले भरिपूर्ण अहमदावादका बारेमा थप जानकारीका लागि गुगल र युट्युबमा भिडियोहरुसमेत खोजी गर्न वा ट्राभल्स कम्पनीसँग सम्पर्क पनि गर्न सकिनेछ ।