नेपालका प्रथम लायन अध्यक्ष लायन मातृका प्रसाद कोइरालाको जन्म १ जनवरी १९१२ मा मोरङको विराटनगरमा भएको हो । उनको अध्यक्षतामा सन् १९७१ मा नेपालमा लायन्स क्लब अफ विराटनगर खुलेपछि नेपालमा लायनवाद प्रवेश गरेको हो ।
नेपालको सामाजिक तथा राजनीतिक क्षेत्रमा मातृका प्रसाद कोइराला चिरपरिचित व्यक्तित्व हुन् । विभिन्न सामाजिक संघसंस्थाहरुमा उनको सक्रिय संलग्नता थियो । उनी १९५३ मा नेपाल क्षयरोग निवारण संस्थाका संस्थापक उपाध्यक्ष भए । नेपाल रेडक्रस सोसाइटीको सदस्य हुँदै अध्यक्षको पदभार पनि उनले सम्हाले । उनी मोरङ उच्च शिक्षा विकास कोषका संस्थापक अध्यक्ष समेत हुन् । उनले कोइराला स्मृति बाल कोषसमेत स्थापना गरे । उनकै अग्रसरता र अगुवाईमा त्रिभुवन स्मृति अस्पताल, रत्नमैत्री सदन रेडक्रस भवन, रक्त बैंक भवनको स्थापना भएको थियो ।
सामाजिक क्षेत्रका साथै राजनीतिमा पनि सक्रिय कोइराला १९४८ मा नेप्लिज नेसनल कांग्रेसको कार्यकारी सभापती भए । उनी १९५० को प्रजातान्त्रिक क्रान्तिका सक्रिय नेता पनि हुन् । कोइरालाले राष्ट्रिय प्रजा पार्टी र राष्ट्रिय जनता परिषदको स्थापना गरे । उनलाई भाषको पनि राम्रो ज्ञान थियो । नेपाली बाहेक अंग्रेजी, हिन्दी, उर्दु, बंगाली, मैथिली, राजस्थानी, भोजपुरी भाषा पनि उनी प्रष्टसँग बोल्न सक्थे ।
उनी नेपालको प्रधानमन्त्री पनि भए । उनी वि. सं. २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) भए। वि. सं. २००८ सालमा मोहनशमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठुलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे। कृष्ण प्रसाद कोइरालाका जेठा छोरा मातृका प्रसाद कोइराला आफ्ना २ भाईहरु विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालासहित एकै बाबुका ३ छोरा प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्ने मध्येका एक हुन् ।
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो। नेपाली कांग्रेसभित्र प्रधानमन्त्री ठुलो कि पार्टी सभापति ठुलो भन्ने बहसले निकै व्यापकता पायो। मातृकाप्रसादले नेपाली कांग्रेस परित्याग गरि नेपाल प्रजा पार्टी गठन गरे। २ असार २०१० मा फेरि मातृकाप्रसादकै प्रधानमन्त्रीत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन भयो। त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा तत्कालीन प्रमुख राज-प्रतिनिधि महेन्द्रले मातृकाप्रसादको सरकार विघटन गरे।
मातृका प्रसाद कोइरालाको निधन वि. सं. २०५४ साल भदौ २६ गते काठमाडौँमा भयो।